गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बिजयी
काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका १८ सिटका लागि सातै प्रदेशमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले बिहिवार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान गर्ने समय तोकेको थियो ।
मतदान सकिएलगतै आयोगले मतगणना शुरु गरेको छ । मतगणनाको पछिल्लो परिणम अनुसार गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ ।
निर्वाचन लगत्तै भएको मतगणनामा श्रेष्ठले ३हजार ४ सय ६२ र न्यौपानेले ३ हजार ३सय ६६ मतभार ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात १९ जनाको दुईवर्षे पदावधि आगामी फागुन २० गते सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सो ठाउँमा सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ ।
१८ सदस्यका लागि आज मतदान भएको हो । राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो । अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्ने छन् ।