राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान आज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान आज

rastriya sava

काठमाडौं, ९ माघ । राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ। सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य (सातै प्रदेश) र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। ‘मतपत्र, निर्वाचन सामग्री, कर्मचारीलगायत सबै मतदान केन्द्र र मतदान स्थल पुगिसकेका छन्,’ प्रमुख आयुक्त थपलियाले भने, ‘ढुक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गर्छु।’

आयोगले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई आग्रह गरेको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा मोरङको विराटनगर, प्रदेश २ मा धनुषाको जनकपुर, बागमती प्रदेशको ललितपुरको जाउलाखेल, गण्डकी प्रदेशको कास्कीको पोखरा, प्रदेश ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने र मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि गणना सुरु गरिनेछ।

निर्वाचनमा प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्को मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्को मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरी ६ हजार दुई सय ६० थान मतपत्र छपाई निर्वाचन हुने समूह र मतदाताको आधारमा मतदान केन्द्रमा पठाइएको आयोगले जनाएको छ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये १८ जना बहुमतीय प्रणालीबाट चयन हुने आयोगले जनाएको छ। १८ सिटका लागि विभिन्न दलका गरी ४५ जना उम्मेदवार छन्। एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्। निर्वाचन हुने १८ पदमध्ये महिला समूहबाट सात, दलितबाट दुई, अपांग र अल्पसंख्यकबाट दुई र खुलातर्फ सातजना छन्। जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीन, प्रदेश २ बाट महिला, दलित र अपांगता वा अल्पसंख्यक भएका र अन्य समूह गरी चार जना, बागमती प्रदेशबाट महिला र अन्य समूह गरी दुई, गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई, प्रदेश ५ बाट महिला, अपांगता वा अल्पसंख्यक भएका समुदाय र अन्य गरी तीन, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुई र सुुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना निवार्चित हुने छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ निर्वाचित र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ। अहिले राष्ट्रिय सभा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४२, प्रमुख प्रतिपक्षी दल कांग्रेसका १३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका दुई÷दुई जना सदस्य छन्। प्रत्येक दुई वर्षमा एकतिहाई सदस्यहरुको पदावधि समाप्त हुने व्यवस्था अनुसार पहिलोपटक निर्वाचित सदस्यको गोलाप्रथाबाट कार्यकाल विभाजन गरिएको थियो। राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ५५ मा सदस्यहरुको पद रिक्त हुनु ३५ दिनअघि निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभा पहिलो बैठकले २०७४ फागुन २१ गते बसेकाले सोही मितिबाट पदावधि गणना हुन्छ। ऐनमा प्रत्येक दुई वर्षमा एकतिहाई सदस्यको निर्वाचन हुने व्यवस्था अनुसार एकतिहाई सदस्यको पदावधि फागुन २० गते सकिन्छ।

आजको नागरिक दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);