काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । उपसभामुख शिबमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गर्नुभएका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावलि २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाउनुभएको थियो ।
लगत्तै उहाँले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।
उपसभामुख तुम्बाहाङ्फेले पहिलो बैठकमा राजीनामा दिने संकेत गर्दै सो बैठक पछि राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा पछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गर्नुभएको हो । यस अघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आईतबार अपरान्ह ३ बजे का लागि बोलाईएको छ ।




