धनुषा, ६ माघ । प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ को आयोजनामा सोमबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा निःशुल्क बृहत् स्वास्थ्य शिविर कार्यक्रम शुरु भएको छ ।
जिल्लाको सपही स्थित वि.पी. कोइराला माविमा शुरु भएको शिविरको उद्घाटन प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नं. २ का अध्यक्ष शुष्मा थापा कार्कीले गर्नुभएको छ । एक महिना पहिला मात्र स्थापना भएको प्रदेश श्रीमती संघले अगामी दिनमा समेत सामाजिक क्षेत्रमा काम गर्ने उहाँले बताउनु भयो ।
दिनभरी संचालनमा रहने उक्त शिविरमा स्थानीय विपन्न समुदायका महिला पुरुष तथा बृद्धबृद्धाहरुले स्वास्थ्य परिक्षण गराईरहेका छन् । स्वास्थ्य परिक्षणमा सहभागी भएकाहरुलाई थप उपचारको आवश्यक्ता परे जनकपुरधामको जानकी मेडिकल कलेजले ५० प्रतिसत छुटमा उपचार गर्ने तथा लहानको आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने संघले जनाएको छ ।




