काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता गजुरेलले संसदको गतिरोध हटाउनु उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले उपसभामखले राजीनामा नदिएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताउनुभयो ।
उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्ने समेत बताउनुभयो । पार्टीका दुवै अध्यक्षले उहाँलाई राजीनामा दिन आग्रह गरेको बताउँदै राजिनामा नदिने भए पार्टीले सोही अनुसार अगाडी बढ्ने समेत बताउनुभयो ।
उहाँले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने बताउनुभयो । उहाँले उपसभामुखले राजीनामा नदिदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत बताउनुभयो ।
नेता गजुरेलले अहिलेको गत्यावरोधको अवस्था कुनै नौलो कुरा नभएको समेत बताउनुभयो । उहाँले पार्टीको महाधिवेसन नहुँदा सम्म पावर सेयरिङ हुनैपर्ने समेत बताउनुभयो ।