एजेन्सी, ०२ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक व्यवस्थामा व्यापक सुधारको प्रस्ताव राखेपछि रुसी प्रधानमन्त्री दिमित्रि मेहवेदेव र उनका सम्पूर्ण मन्त्रीमण्डलले राजीनामा दिएका छन् ।
राष्ट्रपति पुटिनको यो प्रस्तावले सत्ता सन्तुलनमा निकै परिवर्तन आउने प्रधानमन्त्री दिमित्रि मदवेदेवले भनेका छन् । यो परिवर्तन लागू भएपछि संविधानको अनुच्छेद मात्रै परिवर्तन हुने छैन सत्ता सन्तुलन र शक्तिमा पनि परिवर्तन आउने बताइएको छ । कार्यकारीको शक्ति, विधानमण्डलको शक्ति, न्यायपालिकाको शक्ति यी सबैमा परिवर्तन हुने भएपछि वर्तमान सरकारले राजीनामा दिएको हो । राष्ट्रपति पुटिनले संविधान परिवर्तन गर्ने प्रस्ताव राखेका छन्, जसका लागि देशैभर मतदान हुनेछ ।
यसको माध्यमबाट सत्ताको शक्ति राष्ट्रपतिभन्दा संसदसँग बढी हुनेछ । पुटिनले प्रधानमन्त्रीको पद छोडिरहेका दिमित्रि मेदवेदेवलाई राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा बनाउने घोषणा गरेका छन् ।
राष्ट्रपति पुटिनको चौथो कार्यकाल सन् २०२४ मा सकिनेछ र वर्तमान संविधानको नियमअनुसार उनी अर्काे पटक राष्ट्रपति बन्न सक्दैनन् ।




