अमेरिकी नागरिकमाथि अनुसन्धान गर्न पुटिनको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अमेरिकी नागरिकमाथि अनुसन्धान गर्न पुटिनको प्रस्ताव

एजेन्सी, ४ साउन । केही अमेरिकी नागरिकमाथि अनुसन्धान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको प्रस्तावलाई अमेरिकी समकक्षी डोनल्ड ट्रम्पले अस्वीकार गरेका छन् । यसअघि रुसले अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरुलाई खोजी सूचिमा रहेका १२ जना रुसीसँग सोधपुछ गर्न सहमति जनाएको थियो । पुटिनले यसैको साटो प्रस्ताव राखेका हुन् ।

अमेरिकालाई खोजी सूचिमा रहेका १२ जना रुसीसँग सोधपुछ गर्न अनुमति दिएपछि रुसले पनि अमेरिकासँग यस्तै अपेक्षा गरेको थियो । यही अपेक्षामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही अमेरिकी नागरिकमाथि अनुसन्धान अघि बढाउन ट्रम्पसँग प्रस्ताव राखेका थिए ।

ह्वाइट हाउसले यसअघि पुटिनको प्रस्तावमा विचार गर्ने बताएको थियो । यद्यपि, ट्रम्पले यसलाई खारेज गरिदिए । यो प्रस्ताव सोमबार ट्रम्प र पुटिनबीच हेलसिंकीमा भएको शिखरवार्ताको महत्वपूर्ण मुद्दामध्येको एक थियो ।

तर, रुसको यो प्रस्तावलाई लिएर अमेरिकी नेताहरु आक्रोशित बनेका थिए र यसबारे ट्रम्पको चर्को आलोचना भएको थियो । रुसी अधिकारी जुन मानिसहरुसँग सोधपुछ गर्न चाहान्छन्, तिनमा एकजना बिल ब्राउडर हुन् । ब्राउडर पुटिनका पूर्व फन्ड म्यानेजर हुन् । जो अहिले अमेरिकामा बस्छन् ।

रुसी राष्ट्रपति पुटिनसँग करिब २ सय बिलियन डलर रहेको र त्यसमध्ये ज्यादा अकुत सम्पत्ति रहेको ब्राउडरले दाबी गर्दै आएका छन् । उनै बिल ब्राउडरले पुटिनको प्रस्ताव खारेज गर्ने ट्रम्प निर्णयको स्वागत गरेका छन् । डेमोक्रेटिक पार्टीका केही सदस्यले एक विधेयक पेश गरेका छन् जसमा रुसलाई यसको शत्रुतापूर्ण व्यवहारका लागि जिम्मेवार ठहर गर्नुपर्ने कुरा उल्लेख छ ।

डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिन दुबै नेताले आफ्नो भेटवार्ता सफल भएको दाबी गरेका छन् । ट्रम्पले लगातार केही ट्वीट गरेर रुसी समकक्षीसँग महत्वपूर्ण, उपलब्धिमूलक भेटवार्ता भएको र पुनः भेट गर्न इच्छुक रहेको बताएका छन् । पुटिनले पनि यो भेटवार्तालाई सफल भनेका छन् । तर, ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा गरेको चलखेलका लागि भने रुसी राष्ट्रपति जिम्मेवार रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);