काठमाडौं, २३ पुस । पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभरकै मौसम बदलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भागहरुको मौसममा शुक्रबारदेखि मात्र सुधार आउनेछ । शनिबारदेखि देशैभर मौसममा सुधार आउनेछ ।
बुधबार देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो ।
दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चाँपीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ ।
यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो । अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ ।
मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम वायुकै कारण भित्रिन्छ । मनसुन अवधिमा भने पूर्वी वायु सक्रिय हुन्छ । उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ ।