काठमाडौं, २२ पुस । चीन भ्रमणमा रहनु भएका गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीबीच भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी हितका बिषयमा छलफल भएको जनाइएको छ ।
चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रीसंगको भेटवार्तामा गृहमन्त्री थापाले नेपाली भूमिमा चीनविरुद्ध हुने गतिबिधि नेपाल सरकारलाई स्वीकार्य नहुने बताउनुभएको थियो । भेटवार्तामा गृहमन्त्री थापाले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
भेटवार्तामा क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।
दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ ।