एमसीसीमा नेपाल स्वतन्त्र छ : चीन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

एमसीसीमा नेपाल स्वतन्त्र छ : चीन

hou yanqi

काठमाडौं, १९ पुस । चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन्। ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ।

त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिन सक्छ। तर, यो नेपालको आफ्नो हितमा हुनुपर्छ। यस्ता विषयमा नेपाल स्वतन्‍त्र छ’, चिनियाँ दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा होउले भनिन्, ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन। कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्ने निर्णय स्वतन्त्र राष्ट्रको रहन्छ।’

राजदूत होउले करिब ५६ अर्ब रुपैयाँ अमेरिकी अनुदान सहयोग रहेको एमसीसी संसद्बाट अनुमोदन हुने प्रक्रिया नियालिरहेको बताइन्। अमेरिकासँगको यो सम्झौतालाई लिएर सत्तारूढ नेकपा स्थायी समिति बैठकमा विवाद छ। नेकपाका केही नेताले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोडेर संसद्बाट पारित गर्न नहुनेमा जोड दिँदै आएका छन्।

राजदूत होउले भनिन्, ‘चीनले कुनै मुलुकको आन्तरिक विषयमा कहिल्यै हस्तक्षेप गर्दैन। हामी सबैसँग सहकार्य गरेर अल्पविकसित मुलुक अघि बढेको हेर्न चाहन्छौं।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार