कर्मचारीको अभाव भएपछि बीमा समितिले बनायो जोखिममा आधारित नियमन गर्ने योजना
काठमाडौं, १७ पुस । कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको बीमा समितिले जनाएको छ । पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।
संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यवसायलाई नियमन तथा सुपरिवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या प्रयाप्त छैन ।
बीमा समितिसँग अहिले करिब ७५ जना कर्मचारी रहेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बताउनुभयो । यसरी हेर्दा एक बीमा कम्पनीलाई नियमन तथा सुरिवेक्षण गर्न समितिसँग २ जना कर्मचारी पनि छैनन् ।
अध्यक्ष चापागाईंले बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो तीन वर्षमा ५ प्रतिशतबाट बढेर २२ प्रतिशत सम्म पुगेको र वैदेशिक रोजगारमा जानेहरुको बीमालाई पनि जोड्दा २७ प्रतिशतसम्म पुग्ने उल्लेख गर्दै अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्याले अहिलेकै प्रणाली मार्फत नियमन गर्न नसकिने अवस्था आएको बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षमा कर्मचारीको संख्या थप्ने योजना भएपनि बजारमा दक्ष कर्मचारी पाउन मुस्किल हुने बताउनुभयो ।
अध्यक्ष चापागाईंले कर्मचारीको संख्या कम भएपनि समितिको नियमनलाई बलियो र प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । उहाँले पछिल्लो समय नियमनलाई थप प्रभावकारी बनाउन जोखिममा आधारित निरिक्षण र सुपरिवेक्षण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।
उहाँले विगत दुई वर्षदेखि परिपालनमा आधारीत निरिक्षण प्रणालीलाई अवलम्बन गरेको तर कर्मचारीको अभाव हुँदा अव भने जोखिममा आधारीत निरिक्षण प्रणालीलाई अवलम्बन गर्न लागिएको जानकारी दिनुभयो ।
बीमा व्यववसायको क्षेत्र र दायरा बढ्दै जाँदा बीमा समितिले पनि जनशक्ति बढाई नियमनलाई थप प्रभावकारी बनाउनु पर्छ । त्यसका लागि दक्ष कर्मचारीको उत्पादनमा समितिले जोड दिनुपर्छ ।




