एजेन्सी, १६ पुस । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीद्वारा तोडफोड र आगजनी, स्थितिलाई नियन्त्रणमा लिन टियर ग्यास प्रहार । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
इरानसमर्थित मिलिसिया समूहलाई लक्षित गरेर अमेरिकाले हवाई हमला शुरु गरेपछि प्रदर्शनकारीले दूतावासमा आगजनी गरेका हुन् । ठूलो समूहमा आएका प्रदर्शनकारी दूतावास कम्पाउन्डभित्रै पसेर तोडफोड तथा आगजनीमा संलग्न भएका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले टियर ग्यास समेत प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले झ्याल तोडफोड गर्नुका साथै कार्यालयका सामान बाहिर ल्याएर जलाएका अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । इरान समर्थक प्रदर्शनकारी इराकको पपुलर मोबिलाइजेसन युनिटसँग आबद्घ रहेका जनाइएको छ ।
अबु महदी अल–मुहाद्दिनसहित मिलिसिया समूहका तीन नेताहरूसमेत प्रदर्शनमा सहभागी भएका थिए । इरानी समर्थक मिलिसिया समूहका नेताहरूलाई अमेरिकाले हवाई हमलामा निसाना बनाएको छ । पछिल्लो सातामा अमेरिकाले गरेको रकेट हमलामा कतैब हिजबुल्लाह समूहका मिलिसियासहित २५ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् ।