विकास डाँगी
दाङ, १२ पुस । दाङको तुलसीपुर–घोराही सडक खण्डमा निर्माण हुन लागेको चारलेनको करिब ३१ किलोमीटर सडक काम शुरु भएको १ महिना नहुँदै बन्द हुने अवस्थामा पुगेको छ । निर्माण कार्य शुरु भएको १ महिना नबित्दै विभिन्न समुहहरुको अवरोधका कारण काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।
यस सडक खण्डमा करिब ३१ किमी सडक चारलेन बनाउनका लागि निर्माण कार्य शुरु भएको १ महिना नै नवित्दै विभिन्न अवरोध सिर्जना भएको छ । चारलेन सडक निर्माणका लागि तथ्य इन्जिनियरिङ्ग एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले सडक विस्तारको जिम्मा लिएको थियो ।
निर्माण कम्पनीका अनुसार सडक निर्माणका लागि आवश्यक ढुंगा तुलसीपुर-३ सातबासबाट स्थानीय उपभोक्ताहरुसंग सम्झौता गरी काम अगाडी बढाइरहेको थियो । तर सो स्थानमा केही समुहले ढुंगा निकाल्न नदिएकाले चारलेन सडक निर्माण रोकिएको हो ।
सडक निर्माणका क्रममा खानेपानी संस्थानसंगको समस्यामा पनि छलफलपछि काम अगाडी बढाइएको निर्माण कम्पनीले जनाएको छ । ३० महिना भित्र निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकारसंग सम्झौता भएको तर यस्तो राजनीनिकरण गरी ढुंगा निकाल्न नदिएकाले समय सीमा भित्र काम सक्न नसकिने डाँगीको भनाई छ ।
यता ढुंगा ल्याउने ठाउँ तुलसीपुर उपमहानगरपालिका-३ पैयाखोरे, सातबास, कल्ले बल्लेका स्थानियहरु भने कुनै पनि हालतमा बाटोको काम रोक्न नहुने पक्षमा छन् । विकट स्थानलाई सडक सञ्जालबाट जोडिने काम भईरहेकोमा विवाद झिकेर अवरोध गर्नेको प्रतिकार गर्ने स्थानीयहरुको भनाई छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका भएपनि यहाँका स्थानीयहरुले सरकारको कुनै अनुभुति नभएको बताएका छन् । दाङकै विकट स्थानको रुपमा रहेको यस स्थानमा फराकिलो सडकसंगै विकासको ढोका खुल्ने आशा स्थानीयहरुको छ ।
त्यसैले सडक निर्माणमा विवादको मुख्य कारक पत्ता लगाएर काम सुरु हुने अवस्था श्रृजना गर्न स्थानीयले जाेड दिएका छन् ।




