काठमाडौं, ९ पुस । देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्।
महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो।
महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिएका छन्।
२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सुत्र लागू गने निर्णय गरेका थियो। ‘सुत्र’ ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकेको उनले बताए। ‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो। हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं। झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ केसीले भने।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।




