काठमाडौं, ८ पुस । रातको करिब १२ बजेको थियो, शनिबार । बाहिरबाट कसैले ढोका ढकढक्यायो । गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने लाग्यो । श्रीमती इलाले ढोका खोलिन् । मुखमा कालोपट्टी लगाएकाको एक हूल घरभित्र छिरे ।
मध्यरात एक्कासि घरमा त्रासदी छायो । उनीहरूले धीरबहादुर शाहीलाई ‘राजनीतिक गफगाफ छ, हामीसँग हिँड्नुस्’ भन्दै कर गर्न थाले ।
श्रीमती इलाले नलग्न अनुनय गरिन् । उनको केही लागेन, लैजाने नै भए । उनी पछि लागिन्, श्रीमान्सँगै । करिब २ घण्टा टाढाको जंगलमा पुगेपछि उक्त समूहले इलालाई घर फर्कन भन्यो । नफर्के ‘श्रीमान्लाई जे पनि हुन सक्ने’ चेतवनी दियो । मनले नमाने पनि उनी फर्कन बाध्य भइन् । ठाँटीकाँध गाउँपालिका अध्यक्ष शाही भने अपहरणमा परे ।
५६ वर्षीय शाहीले त्यसपछि आफ्नो जीवनमै पहिलो पटक भयपूर्ण यात्रा थाले । ‘जंगलैजंगल, त्यसमाथि बाक्लो हिउँ,’ अपहरणमुक्त भएपछि सम्पर्कमा आएका शाहीले भने, ‘यो यात्रा त मेरो जीवनमा अविस्मरणीय नै भयो ।’ द्वन्द्वकालको त्रासदीबाट उनी परिचित थिए । यस्ता समूह उनले त्यसबेला नदेखेका होइनन् । तर, व्यवहार कस्तो होला, के गर्ने हुन् भन्ने चिन्ता भयो । उनका दुवै मोबाइल फोन समूहले नियन्त्रणमा लिएपछि आफ्नाबारेमा कसैलाई पनि खबर गर्न नसक्ने अवस्था भयो ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।