१२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

१२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै

chiniya nagarik

काठमाडौं, ८ पुस । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।

चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा मनमैजुका चार, बाँसबारीका दुई र बुढानीलकण्ठको एक घरमा छापा हानी प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । तर, यो अभियान अझै जारी रहने प्रहरी अधिकारीले जनाएका छन् । ‘चिनियाँ पक्षले ६ सयजनाको सूची दिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सोचेभन्दा थोरै मात्र पक्राउ परे, धेरै भागिसकेका हुन सक्छन्, यो अपरेसन जारी रहन्छ ।’

बाँसबारी, नयाँबजार क्षेत्रमा घर नै भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिक पर्यटक भिसामा थिए । उनीहरूबाट करिब पाँच सय ल्यापटप तथा मोबाइल बरामद गरिएको छ । ‘उनीहरूबाट ल्यापटप, मोबाइललगायत विद्युतीय सामग्री बरामद भएका छन्, प्रहरीले ती सामग्रीमाथि पनि अनुसन्धान गर्दै छ,’ सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले  भने ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);