काठमाडौं, १ पुस । ठेकेदारको लापरबाहीले पुरानो बसपार्कमा बनाउने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै शुरु हुन सकेको छैन । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइकाबीच भएको सझौता अनुसार गत चैतदेखि काम शुरु गर्नुपर्ने भएपनि हालसम्म काम नै शुरु भएको छैन ।
सम्झौता अनुसार भ्यु टावर अव एकबर्षमा बन्नु पर्ने हुन्छ । तर निर्माणको काम अझै शुरु नभएपछि काठमाडौं महानगरले पनि काम सन्तोषजनक नभएको भन्दै कारबाहि गर्ने तयारी गरेको छ ।
पुरानो बसपार्कको भ्युटावर बन्ने क्षेत्रमा हाल जस्ताको बार लगाएर मात्र राखिएको छ । टावर बन्ने स्थान जस्तापाताले बारबेर गरेर राखेकोले कानुनी रुपमा काम गरेको देखिएपनि टावर भने बनेको छैन ।
काठमाडौं महानगरपालिकाले बारम्बार घचघच्याइरहँदा पनि कम्पनीले अझसम्म निर्माण शुरु नगरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । महानगरपालिकाले ठेकेदार कम्पनीलाई प्रगती विवरण पेस गर्न भने पनि कामको विवरण भने सन्तोषजनक नभएको प्रवक्ता ढंगोलको भनाइ छ ।
सम्झौता भएको मिती देखि अव एक बर्षको समय भएकाले महानगरपालिकाले कारवार्हीको प्रकृया अगाडी बढाएको छ । टावर बनाउनका लागि नै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारिएको छ । ठेकेदार कम्पनीले भने जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकोले काम शुरु गर्न नसकेको कारण देखाउँदै ढिलाइ गरेको छ ।
भ्यु टावर बनाइने काममा भएको ढिलाइले सर्वसाधारणलाई समेत असर परेकाकारण स्थानीयले बिरोध समेत गरेका छन् । विपत आएको समयमा पनि खुल्ला ठाउँको अभाव हुने हुनाले बसपार्कको स्थानमा भ्यु टावर बनाउन नहुने अभियन्ताहरुको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले यसअघि पनि चाँडै नै निर्माण कार्य शुरु नगरे पार्किङलाई पून बसपार्क सार्ने चेतावनी समेत दिएपनि काम भने ज्युकोत्यो रहेको छ। महानगर र कम्पनीले ५ वर्षभित्र टावर निर्माण सम्पन्न गर्ने भन्दै सम्झौता गरेका थिए । २०७२ को शुरुबाट टावरको निर्माण शुरु गरिने भनिएपनि भुकम्पले काम रोकिएको थियो ।




