एजेन्सी, २९ मंसिर । सुडानका पूर्व राष्ट्रपति बसिर भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा दोषी ठहर, २ बर्ष नजरबन्द राख्न अदालतको आदेश ।
सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्धारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई २ बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ ।
उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो । आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्व राष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको बताइएको छ । ७५ बर्षीय बसिरमाथि लागेको अर्को मुद्दा समेत लागेको छ जुन अदालतमा विचाराधीन अवस्थामा छ । भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा लागेको हो । गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।