सरकारको सय दिन पूरा : दोस्रो निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकारको सय दिन पूरा : दोस्रो निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धी

काठमाडौं, २९ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो सय दिन उपलब्धिमूलक रहेको दावी गरेको छ । सरकारको सय दिनको कार्यकालका प्रगति वितरण बिहिबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सय दिन उपलब्धी मूलक रहेको दावी गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचारकर्मीमाझ उनले सरकारले तोकेको प्राथमिकता अनुसारको कामलाई सवल रुपमा कार्यान्वयनमा लगिएको बताए । मन्त्री बस्नेतले निर्वाचनमा सबै दललाई आउने वातावरण बनाई स्थानीय तह दोस्रो चरणको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्नु सरकारको मुख्य उपलब्धि भएको उल्लेख गरे ।

सरकारले राजनीतिक दलहरुसँगको समन्वयलाई बलियो बनाएको, मुलुकमा सदाचार कायम गर्न सफल भएको उनले दावी गरे । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक तयारीको कामलाई अघि बढाउनु सरकारले अर्को मुख्य उपलब्धिको रुपमा चित्रण गरेको छ ।

मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारण गरि निर्वाचनको तयारीको कामलाई अघि बढाउन सरकार सफल भएको बताए । त्यस अवसरमा उनले सरकार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको स्पष्ट पारे ।

मन्त्री बस्नेतले सरकारले राष्ट्रिय आयोजनाको कामलाई अघि बढाउन पनि उच्च प्राथमिकता दिएको बताए । उनले राष्ट्रिय आयोजनाको कामलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले आवश्यक निर्देशन दिएको र सोही अनुसारको काम अघि बढिरहेको बताए ।

सरकारले छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ र उन्नत बनाउन पनि सफल भएको उनले दावी गरे । मन्त्री बस्नेतले राष्ट्रपति विद्या भण्डारीको जेनेभा भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण र परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणबाट कूटनीतिक सम्बन्ध अझै सुदृढ बनाउन सरकारलाई ठूलो सफलता मिलेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);