काठमाडौं, २७ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आग्रह गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुंगामा रोकिनेछन् ।
यस्तै मुग्लिनबाट नारायणगढ तर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिने जनाइएको छ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।