काठमाडौं, २५ मंसिर । पर्वतीय पर्यटनको जानकारी गराउने उद्देश्य सहित नेपालमा पनि ‘छैठौं अन्तर्राष्ट्रिय पर्वत दिवस’ मनाइएको छ । यसै अवसरमा नेपाल पर्वतारोहण संघको आयोजनामा बुधवार राजधानीमा प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभातफेरीका विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।
प्रभातफेरीमा संघका अध्यक्ष शन्तबिर लामाले नेपाल हिमाल, पहाड र तराईको देश भएकाले पर्वतीय पर्यटनको सम्भावना र त्यस सम्बन्धी जानकारी गराउन पनि विश्व पर्वत दिवसको अवसरमा प्रभातफेरी निकालिएको बताउनुभयो ।
नेपालमा कुल भू–भागको ४३ प्रतिशत पर्वतिय क्षेत्र छ र त्यस मध्ये १५ प्रतिशत भू–भाग हिमाली क्षेत्र छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् ।
त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरु बताउँछन् ।