बाजुरा, २४ मंसिर । बाजुराको सदरमुकाम मार्तडीस्थित साँफे–मार्तडी सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनलाई रुटपर्मिट दिएर भाडा घटाएपछि स्थानियहरु खुसी भएका छन् । उक्त सडक खण्डको ५५ किलोमिटर सडकले पक्की भएको २ बर्ष पछी रुटपर्मिट पाएको हो । रुट परमिटसँग भाडादर समेत समायोजन भई सस्तो दरमा सार्वजनिक सवारी साधनमा यात्रा गर्न पाउने भएपछि स्थानियहरुमा खुशी छाएको हो ।
भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय अन्तरगर्तको यातायात ब्यबस्था बिभागले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि साँफे–मार्तडी सडकमा भाडादर समायोजन भएको छ । यस अघि रुटपर्मिट विना सञ्चालनमा रहेका गाडीहरुले ५५ किलोमिटरको भाडा ५ सय सम्म असुल्दै आएका थिए भने अहिले सोही दुरी १ सय ६५ रुपैँया भाडा दरमा नै यात्रा गर्न पाएका छन् । भाडादर समायोजन भएपछि स्थानियहरु खुशी भएका छन् ।
यातायात व्यवस्था विभागको अनुमति पाएसंगै मार्तडी–साफे सडक खण्ड भित्र ४० सिट वा सो भन्दा कम सिट भएका यातायातका साधानहरुका लागि अनुमति दिइएको छ ।
मार्तडी देखि साँफे बिचका भागहरु तिपाडा, फालासैन बाम्का बेतालमाण्डौ लगायतका बजारसम्मका सवारीका लागि पनि त्यही १ सय ६५ रुपँैयाको मध्यबाट भाडादर कायम गरिने छ । यातायात व्यवस्था बिभागको २०७६ मसिंर १७ गते बसेको बैठकले यस सडक खण्डमा भाडादर कायम गरि पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भाडा समायोजन पश्चात सवारी साधनमा यात्रुहरु ठगिने आशंकामा विभिन्न स्थानमा चेकजाँच भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँफेदेखि बार्जुगाड सम्म करिव ५ बर्ष अगाडी कालोपत्रे भइसकेको र बार्जुगाड देखि सदरमुकाम मार्तडी जीरो पोइन् सम्म पिच भएको २ बर्ष पुगेको छ । बाजुरावासीका लागि राम्रो सडक भएर पनि भाडमा ठगिनु पर्ने बाध्यता अव भने हट्ने अपेक्षा गरिएको छ ।