काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि मतदान छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि सूरु भएको मतदान ५ बजे सकिएको हो ।
सबै ठाउँमा शान्तिपूर्ण ढंगले मतदान भएपनि पनि कास्की र डोटीमा बम भेटिएको थियो । कास्की–२ मा हस्ताक्षर नगरिएको मतपत्रले केहिबेर विवाद भएको थियो । विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि भएको थियो ।
१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अन्य वडा अध्यक्षका लागि गरि कुल ५२ रिक्त पदमा मतदान भएको हो । पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको निधनसँगै रिक्त रहेको सो क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो ।
त्यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि रिक्त प्रदेश सभा क्षेत्रमा पनि आज निर्वाचन भइरहेको छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको ०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।
स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको थियो । हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन भएको हो ।
शनिबार भएको उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेका थिए । जसमा महिला २ लाख ३३ हजार ४ सय २, पुरुष २ लाख २० हजार ७ सय १० र अन्य २ जना छन् ।