नक्कली हस्ताक्षर गरी बैंकबाट १९ लाख रकम निकाल्ने गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

नक्कली हस्ताक्षर गरी बैंकबाट १९ लाख रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौं, ११ मंसिर ।  बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी रकम निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौले विभिन्न बैंकमा खाता खोली हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जनालाई पक्राउ गरेको हो ।

जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट मंसिर ८ गते १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइल मेशेज आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले राष्ट्र बैंक र सम्बन्धित बैंकसँग छलफल गरी अनुसन्धानलाई अगाडी बढाएको थियो ।

अनुसन्धानका क्रममा किर्ते गरी रकम निकाल्दै गरेको अवस्थामा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउपर्नेहरुको साथबाट विभिन्न बैंकहरुको चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआइसी एसिया बैंकको भिसा कार्ड, करिब ३ सय जनाको नागरिकताको फोटोकपी तथा हस्ताक्षरका नक्कलहरु र १८ लाख ५० हजार रुपैयाँ बरामद भएको सुवेदीले जानकारी दिनुभयो ।

19 lakh pakrau

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घरभई काठमाडौं कालिमाटिमा बस्ने वर्ष १९ को सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ्, वर्ष १८ को मनिष घिमिरे, बर्ष २१ को अन्जन बराल, बागलुङ गलकोट नगरपालिका घर भई काठमाडौं बुद्धनगर बस्ने वर्ष २५ को सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौंको सुविधानगर बस्ने वर्ष ३० को गोविन्द घिमिरे रहेका छन् ।