एजेन्सी, १० मंसिर । अमेरिकी राष्ट्रपति कार्यालयका पदाधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानमा बयान दिनु पर्ने भएको छ । अमेरिकाको संघीय अदालतका न्यायाधीशले ह्वाइट हाउसका पदाधिकारीले संसद समक्ष बयान दिनु पर्ने फैसला गरेको संचार माध्यमहरुले जनाएका छन् ।
संघीय अदालतले कानूनभन्दा माथि कोहि नहुने भन्दै ह्वाइट हाउसका पदाधिकारीले संसद समक्ष बयान दिनु पर्ने फैसला गरेको हो । अदालतको निर्देशनात्मक आदेश विशेष रुपमा ह्वाइट हाउसका पूर्व काउन्सिल डन म्यागानमा लागु हुनेछ ।
सन् २०१६ को चुनावमा रुसको चलखेलका कारण परिणाम फेरबदल भएको आशंकामा भएको अनुसन्धानको क्रममा उनलाई सुनुवाइको लागि बोलाइएको थियो । अमेरिकी संसदले म्यागानलाई गएको मे मा बयानका लागि उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरेका थिए । अब अदालतको आदेशपछि भने उनी संसदमा उपस्थित हुनु पर्नेछ । तर, ट्रम्प प्रशासनले अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्ने तयारी गरिरहेको जनाइएको छ ।




