काठमाडौं, ६ मंसिर । भारतसंग सीमा विवाद समाधानका लागि प्रधानमन्त्री स्तरमा कुटनीतिक पहलका लागि चौतर्फी दवाव बढीरहेको छ । सरकारले पनि बहसका लागि कुटनैतिक पहल गर्न कुनै कसर नछोडिएको अभिव्यक्तिहरु सार्वजनिक भइरहेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पनि विहीबार नियमित पत्रकार सम्मेलनमा समाधानका लागि निरन्तर पहल भईरहेको दावी गर्नु भएको छ ।
नेपालको प्रयासलाई भारतले वेवास्ता गरेको भारतीय अधिकारीको अभिव्यक्तिबाट देखिन्छ । नेपालको सीमा मिचिएको विषयलाई भारतले आफ्नो दावी गर्दै नक्सा सही भएको बताइरहेको छ ।
प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतले सीमा विवादलाई सुल्झाउन पर्याप्त पहलहरु भईरहेको दावी गर्दै आउनु भएको छ । नेपालबाट पहल गरिएको दावी गरिएपनि भारत भने आफ्नो शुरुवाती अडान मै दृढ देखिएको छ ।
२ साता अघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै कुनै सीमा परिवर्तन नगरिएको दाबी गर्नु भएको थियो । र अहिले भारतको अभिव्यक्तिमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ताको जवाफबाट के नेपाल सरकारले साँच्चै केही पहलहरु नभएकै हो त ? भन्ने प्रश्न आम नेपालीमा उठेको छ । कुटनैतिक पहल कुनै तामझामका साथ गरिने नभई आन्तरिक रुपमा हुने भएकाले सरकार आन्तरिक छलफल मै रहेको सत्तापक्षका नेता रामनारायण विडारी बताउनु हुन्छ ।
सीमा विवाद समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा सबै पार्टी र विज्ञहरुले एकमतका साथ प्रधानमन्त्रीलाई अगाडी बढ्नका लागि साथ दिएका थिए । तर अझै पनि समाधानको कुनै लक्षणहरु देखा नपरेपछि प्रतिपक्ष नेपाली कांग्रेसलगायत सत्ताधारी दलकै नेताहरुले विभिन्न कार्यक्रमहरुमा आलोचना तथा टिकाटिप्पणीहरु गरिरहेका छन् ।
विहीबार त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रवादी प्रधानमन्त्री ओली समपर्णवादीमा परिणत हुनु भएकोसम्म भन्न भ्याउनु भयो । यसरी सरकारमाथि भारतसँग तत्काल वार्ता गर्न चौतर्फी दवाव बढिरहेको छ ।