काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थाल्नुभएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी आफु लागेको जानकारी गराउनुभएको हो ।
कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने खुलाइएको छैन । कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन समेत हुने सक्ने समेत बताइएको छ । मन्त्रिपरिषद् पुनर्गठको विषयलाई लिएर प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत शीर्ष नेताहरुसँग आन्तरिक परामर्श समेत गरिसक्नुभएको छ ।
यसैबीच, सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ ।