मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित १ सय ७४ हेक्टर भूमि अतिक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित १ सय ७४ हेक्टर भूमि अतिक्रमण

सुरेन्द्र भण्डारी
झापा, ३० कात्तिक । छिमेकी देश भनिएको भारतले सीमा जोडिको ठाउँमा नेपाली भूमि मिच्न कतै छोडेको छैन । सीमा स्तम्भ वर्षेनी हराउने र नेपाली भूमिमा नयाँ थप्ने काम गर्न समेत भारत पछि परेको छैन ।

सुदूरपश्चिमको दार्चुलामा लिम्पियाधुरा, कालापानी, लिपुलेक मिचेर आफ्नो नक्सामा पारेको भारतले पूर्वी नेपालको झापामा पनि सीमा मिचेको छ । मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित १ सय ७४ हेक्टर जमीन भारतले मिचेको छ।

झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारी गाउँ मेची नदीले छुट्टाएको छ । मेची नदीले टापु आकार बनाइदिएको मेचीपारी गाउँमा १ सय ५५ घरधुरीमा ३ सय ५० बढी जनसंख्या रहेको छ ।

गाउँमा महतो, राजवंशी र सन्थाल समुदायका बासिन्दा वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन् । त्यहाँका बासिन्दा जोतभोग गर्दै परिवार पाल्दै आइरहेका छन् । मेचीपारी बसोबास गर्दै आएका नेपालीहरुले दैनिक जसो भारतको थिचोमिचो सामना गर्दै आएका छन् भने सीमामा अन्य विभिन्न समस्याहरु पनि भोग्दै आएका छन् ।

१ सय ४ नम्बर पिलर नजिकै भारतको सन्थालबस्ती छ । पहिला त्यो बस्ती नेपालको थियो । २० बर्ष अघि नेपाली नागरिक थिए र नेपाल कै धनी पुर्जा पनि थियो तर भारतको अतिक्रमणका कारण अहिले यिनी भारतीय नागरिक भईसकेका छन् ।

१ सय ५ नम्बर पिलर नजिकै मेचीपारी गाउँमै सन्थाल बस्ती छ । त्यहाँ १४ घरपरिवारमध्ये ७ घरपरिवारलाई झन्डै २० वर्षअघि भारतले राशन कार्ड (नागरिकता) दिएर भारतीय नागरिक बनाउन खोजेको स्थानिय बाबुल हाँस्दा बताउँछन । भारतको ठाकुरगञ्जबाट आएको भारतीय अधिकारीको टोली गाउँमै आएर राशन कार्ड दिएको उहाँले विगत सुनाउनु भयो।

भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो गुगल म्यापमा समावेश गरिसकेको छ । १ सय १८ किलोमिटर बोर्डर क्षेत्र रहेको झापामा भद्रपुरको मेची पुल, मेचीपारी, कचनकवलको पाठामारी, साबिक महेशपुर, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगी लगायतका ठाउँका सीमा विवाद छ ।

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो ।