काठमाडौं, ३० कात्तिक । खुल्लामञ्च अतिक्रमण विरुद्ध संचालित अकुपाई टुँडिखेल अभियान अन्तर्गत टुँडिखेलमा खरीको विरुवा रोपिएको छ । विभिन्न वहानामा उपत्यकाका खुल्ला स्थान अतिक्रमण हुन थालेपछि नागरिक समाज तथा स्थानीय युवाहरुले शनिबार खरीको विरुवा रोपेका हुन् ।
अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीयबासी, नागरिक समाजका अभियन्ता तथा युवाहरुको सहभागिता रहेको थियो । अकुपाई टुँडिखेल अभियानका संयोजक बिजय श्रेष्ठले पछिल्लो समय राजधानी उपत्यकाका रुखहरु काटिदै गएको तर रोप्ने काम नभएकाले प्रकृतिलाई माया गरौ भन्ने संदेश दिनका लागि प्रतिकात्मक रुपमा खरीको विरुवा रोपिएको बताउनुभयो ।
खुल्ला स्थान अतिक्रमण हुनबाट जोगाउनका लागि ३ महिनाको समय दिएर सुरु गरिएको अकुपाई टुँडिखेल अभियान अन्तर्गत आगामी दिनमा सञ्चालित कार्यक्रमहरुमा जनप्रतिनिधिहरुलाई ल्याएर खरीको बोटमा सपथ खुवाईने अभियानकै अर्का सदस्य गणपतिलाल श्रेष्ठले बताउनुभयो ।
भुकम्पपछि अस्थाई रुपमा प्रयोग गरिनुको साथै खुलामञ्चको केही भाग विभिन्न संघ संस्थालाई दिइएको छ । त्यसैगरी त्यहाँस्थित दुइ गुठीले पनि व्यवसायिक प्रयोजनका लागि जग्गा भाडामा लगाएका छन् । खुलामञ्चमा बीर अस्पतालको स्टोररुमदेखि निर्माण सामग्री राख्ने, गाडी पार्किङ्ग गर्ने गरिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा नै गराईएको छ ।
अनधिकृत पार्किङ गर्ने र विभिन्न बहानामा जमिन ढलान गर्ने तथा पछिल्लो समय सो स्थानमा स्थाई प्रकृतिका संरचना बन्न थाले पछि चौतर्फी बिरोध हुदै आएको थियो । खुलामंञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार अकुपाई अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरिने छ ।