बालयौन दुराचारीको दृष्टि नेपालतिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

बालयौन दुराचारीको दृष्टि नेपालतिर

rape

काठमाडौं, ३० कात्तिक । काभ्रे जिल्ला अदालतमा ०७६ असार २३ मा चहलपहल थियो । न्यायाधीश अर्जुन अधिकारीको इजलासमा नयाँदिल्लीस्थित क्यानाडेली उच्च आयोगका ‘मिनिस्टर काउन्सिलर’ अमान्डा स्ट्रोहन र महावाणिज्यदूत भेरोनिक देसहाइस उपस्थित थिए ।

उच्च कूटनीतिक अधिकारीहरूको उपस्थिति यसकारण पनि अर्थपूर्ण थियो, उक्त दिन इजलासमा बालयौन दुराचारमा मुछिएका क्यानाडेली नागरिक पिटर डलग्लिसको मुद्दाको सुनुवाइ हुँदै थियो । क्यानाडा सरकारबाट सर्वोच्च नागरिक सम्मान पाएका र तीनवटा अनररी डक्टरेटको उपाधि पाएका पिटर सन् १९९८ मा संसारका १० प्रतिभाशाली युवाको रूपमा जुनियर च्याम्बर इन्टरनेसनलको छनोटमा पनि परेका थिए ।

स्ट्रिट किड्स इन्टरनेसनल नामक संस्था खोलेर युद्धपीडित र सडक बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्दै आएका पिटरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर नगरपालिका–१ स्थित एउटा घरबाट दुई बालकसहित पक्राउ गरेको थियो । काभ्रे जिल्ला अदालतले उनलाई बालयौन दुराचारको कसुरमा ९ वर्ष जेल सजाय गर्ने फैसला गर्‍यो ।

नेपाल प्रहरीले विदेशी बालयौन दुराचारीलाई पक्राउ गरेको यो नौलो घटना थिएन । प्रहरीका अनुसार ०७५ सालमा मात्रै ६ विदेशी र एक नेपाली गरेर सात जना यही आरोपमा पक्राउ परेका थिए । जसमा फ्रान्सका तीन, नेदरल्यान्ड्स, भारत, अमेरिका र नेपालका एक–एक जना थिए ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार आव ०७३/७४ देखि ०७५/७६ सम्म दुई वर्षमा नेपालमा १२ विदेशी र उनीहरूका दुई सहयोगी बालयौन दुराचारको अभियोगमा पक्राउ परेका थिए । उनीहरूबाट ३३ जना बालबालिका पीडित भएको देखिन्छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);