रहेनन् गाडी बोक्ने जिउँदो इतिहास | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रहेनन् गाडी बोक्ने जिउँदो इतिहास

car bokne rahenan

हेटौडा, २९ माघ । त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडाैं पुर्‍याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ ।

दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडाैं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् ।

वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई ढ्याङग्रो ठोकेर झारफुक गरेर पठाउँथे । हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिन्थे । युवा अवस्थामा उनका काँधमा गाडीको नोल बस्थ्यो, पछि ढ्याङग्रो बस्ने गरेको थियो ।

धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए ।

वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्‍याएका थिए ।

पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८/८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्‍याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);