राष्ट्रपति हमिदको नेपाल भ्रमणले व्यापार घाटा कम हुने अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

राष्ट्रपति हमिदको नेपाल भ्रमणले व्यापार घाटा कम हुने अपेक्षा

hamid nepal bhraman

काठमाडौं, २७ कात्तिक । बंगलादेशसँग पछिल्लो पाँच वर्षदेखि नेपालको व्यापारघाटा रहेको छ । यसअघि नाफामा रहेको व्यापार बंगलादेशबाट आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । यसबीचमा बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको व्यापार बढ्नसक्ने अपेक्षा गरिएको छ ।

नेपालबाट बंगलादेशमा विशेषगरी कृषिजन्य पदार्थ निर्यात हुने गरेको छ । मसुरोको दाल, गहुँ र जडिबुटी बढी मात्रामा निर्यात भएपनि बंगलादेशबाट जुस लगायतका वस्तुको आयात भने ठूलो मात्रामा हुने गरेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८ करोड रुपैया बराबरको विभिन्न बस्तु नेपालबाट निर्यात गरेकोमा सोही बर्ष ४ अर्ब ८९ करोड बराबरको विभिन्न बस्तु बंगलादेशबाट नेपालले आयात गरेको थियो ।

आर्थिक वर्ष २०७५ ७६ मा भने नेपालबाट बंगलादेशमा हुने निर्यातमा केही बृद्धि भएको छ । तथ्याकंअनुसार १ अर्ब २८ करोड विभिन्न बस्तु निर्यात भएकोमा आयात भने ४ अर्ब २४ करोड बराबरको आयात भएकोछ ।

जिडिपीमा ७० प्रतिशत भन्दा बढी योगदान निजी क्षेत्रको रहेकाले नेपालमै काम गर्न वातावरण भएमा दोस्रो तथा अन्य मूलुकबाट आयात कम गर्न सकिने निजी क्षेत्रको भनाईछ तथापि बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आइसकेपछि व्यापार घाटामा सुधार हुने अपेक्षा समेत व्यवसायिको छ ।

नेपालबाट बंगलादेशका लागि विद्युत, औषधी, पेट्रोलियम पदार्थ लगायत निर्यात गर्न सकिने र यसमा बंगलादेश पनि इक्छित रहेकोले यसबाट व्यापार घाटा कम गर्न सकिने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षको भनाई छ ।

नेपालमै उत्पादन बृद्धिमा जोड दिनका लागि युवाहरु परिचालन गर्नुपर्ने सर्वसाधारणको भनाईछ । सरकारले सहि ढङ्गले खेती गरेको छ कि छैन् अनुगमन गर्नुपर्ने, वास्तविक किसानलाई प्रोत्साहन गरेमा नेपालले कृषि क्षेत्रमा फड्को मार्नेमा र दोस्रो मूलुकबाट आयात गर्नू नपर्नेमा सर्वसाधारण विश्वस्त छन् ।

बंगलादेशसँग स्वदेशी वस्तुको निर्यात बढाउन नसक्दा यसरी व्यापार घाटा बढ्दै गएको छ । स्वदेशी वस्तु उत्पादन प्रतिस्पर्धी नहुनु, गैरभन्सार अवरोध र यातायात कनेक्टभिटी नहुँदा स्वदेशी वस्तुको निर्यात बढ्न नसक्नु पनि नेपालको बंगलादेशसँग व्यापारघाटा बढ्नुको प्रमुख कारण देखिन्छ । अब बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको नेपाल भ्रमणको मुख्य एजेन्डाका रूपमा दुई देशको व्यापार बढाउने रहेको भएकाले व्यापारीक सम्बन्ध लगायत व्यापार घाटा कम हुने अपेक्षा गर्न सकिन्छ ।