एजेन्सी, २३ कात्तिक । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएकोे ठहर गरेको छ । राम मन्दिर बाबरी मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको हो । यो निर्णयसँगै राम मन्दिर बनाउने बाटो खुलेको छ ।
अदालतले मुस्लिमहरुको मस्जिद बनाउन वैकल्पिक जमिन उपलब्ध गराउन आदेश समेत दिएको छ । प्रधानन्यायाधीश रञ्जन गोगोईले गरेको फैसलामा मुस्लिम पक्षलाई पाँच एकड जमिन छुट्टै ठाउँमा दिन केन्द्र सरकारलाई आदेश दिइएको छ ।
सर्वोच्चका प्रधानन्यायाधीश रन्जन गोगोईको अध्यक्षता रहेको ५ सदस्यीय संवैधानिक इजलासले सन् २०१० को इलाहाबाद उच्च अदालतको अध्योध्याको विवादित २.७७ एकड भूमिलाई सुन्नि वक्फ बोर्ड, निर्मोही अखडा, रामलल्ला –जन्मभूमिलाई बराबर पर्ने गरी तीन भाग लगाउने फैसला गरेको थियो । फैसलाविरुद्ध सर्वोच्चमा एक दर्जनभन्दा बढी पुनः रिट दायर गरिएको थियो ।
गत वर्ष सर्वोच्च अदालतले ती सबैलाई एउटै इजलाशमा हेर्ने निर्णय गरेको थियो । त्यसपछि राममन्दिर–बाबरी मस्जिद विवादको सुनुवाई सर्वोच्च अदालतमा दुई महिनाअघि ४० दिनसम्म लगातार चलेको थियो । त्यसको अन्तिम सुनुवाई १६ अक्टोबर सकिएको थियो । सुनुवाई सकिए पनि अदालतले फैसला भने शनिबार मात्र गरेको हो ।
शनिबार सर्वोच्चले रामन्दिर–बाबरी मस्जिद मुद्दामा फैसला सुनाउने भएपछि पुरै उत्तरप्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेषगरी अयोध्याको सुरक्षा व्यवस्थालाई निकै नै कडा पारिएको छ ।