काठमाडौं, १९ कात्तिक । रौतहटको राजपुर फरदहवा बमकाण्डमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताब आलमसंगको बयान बुधवार पनि जारी रहने भएको छ ।
मंगलवारबाट शुरु भएको बयान नसकिएपछि उनको बयान बुधवार पनि हुने भएको हो । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान शुरु भएको हो ।
मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि बयानका लागि अदालत उपस्थित गराइएको हो ।
आलमको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम बिस्फोटको घटनामा आलम विरुद्ध कर्तव्य ज्यान, ज्यानमर्ने उद्योग र बिस्फोटन भण्डारणको मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो ।
त्यसपछि उनि माथि अभियोग अनुसारको सजायको मागसहित अभियोगपत्र अदालतमा दर्ता भएको हो । आलममाथि राजपुर बमबिस्फोटमा घाईते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामै जिउँदै इटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप छ । प्रहरीले आलमलाई गत असोज २६ रौतहटको गौरबाट पक्राउ गरेको थियो ।