दिल्लीमा वायु प्रदूषण बढ्दा सम्पूर्ण विद्यालय बन्द, नेपालमा बढ्यो चिन्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दिल्लीमा वायु प्रदूषण बढ्दा सम्पूर्ण विद्यालय बन्द, नेपालमा बढ्यो चिन्ता

delhi phohor

एजेन्सी, १७ कात्तिक ।  भारतको राजधानी नयाँ दिल्लीमा बढेको वायु प्रदूषणले चर्काे रुप लिएपछि नेपालमा चिन्ता बढेको छ । दिल्लीमा वायु प्रदूषण बढ्दा श्वास फेर्ने समस्या भएपछि दिल्लीका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

दिल्लीको असर नेपालमा पनि पर्न सक्ने भन्दै वातावरणविद्हरुले नेपालमा सजगता अपनाउन सरकारलाई सुझाएका छन् । दिल्लीको हावामा प्रदुषणको मात्रा बढेपछि दिल्ली सरकारले अति आवश्यकीय बाहेक बाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ । दिल्लीको जस्तै अवस्था नभएको भए पनि काठमाडौंको हावा पनि बस्न योग्य नभएको विज्ञहरु बताउँछन् । काठमाडौंमा पनि वायुप्रदुषणको स्तर उच्च रहेको विभिन्न तथ्यांकले देखाएको छ । नेपालका मुख्य सहरहरुमा पनि मापदण्ड भन्दा करिब पाँच गुणा बढी प्रदुषण रहेको पाइन्छ । सुख्खा मौसममा काठमाडौं भन्दा लुम्बिनी, सौराहा बढी प्रदुषित हुने भएकाले दिल्लीमा देखिएको प्रदुषणले नेपाललाई पनि असर पर्न सक्ने भन्दै सर्तक हुन विज्ञको सुझाव छ ।

काठमाडौंमा शहरीकरण र यातायातको साधन बढेसँगै वायु प्रदुषण पनि बढिरहेको छ । नेपालको राष्ट्रिय मापदण्ड अनुसार पीएम २ दशमलव ५ भनिने रौं भन्दा झण्डै तीनगुणासम्म सुक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्राम भन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताइन्छ । वायु प्रदुषणबाट श्वासजन्य रोगको प्रकोप बढ्ने विज्ञहरु बताउँछन् । विज्ञहरुले यसरी बताई रहँदा प्रदूषणबाट कसरी बच्ने भन्नेमा सर्वसाधारणमा चिन्ता देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा बढी प्रदुषण काठमाडौं, लुम्बिनी र सौराहमा देखिएको छ । यसले श्वासजन्य रोग बढिरहेको अध्ययनहरुले देखाएको छ । यसको न्युनीकरणको सरकारका साथै जनस्तरले पनि आ-आफ्नो स्तरबाट काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा हुने वायु प्रदूषणको कारण सबै आन्तरिक मात्र देखिंदैन । नेपालमा खास औद्योगिक क्षेत्र नभएको हुँदा आन्तरिक प्रदूषणको कारण कमै देखिन्छ । नेपाल भारत खुला सीमाना, भारतमा बढ्दो औद्योगिककरण, पश्चिमी वायुका कारण नेपाल जहिले पनि वायु प्रदुषणको जोखिममा रहेको छ । भारतको दिल्लीमा अहिले प्रदूषणको कारण श्वास फेर्न गाह्रो भएर सम्पूर्ण विद्यालय बन्द गरिएको छ भने बाहिरी निर्माण काम पनि रोकिएको छ । त्यस्तो परिस्थिति आउन नदिन नेपालले पाठ सिक्नु पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);