काठमाडौं, १६ कात्तिक । प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका पदाधिकारीले विदेशी अधिकारीसँग गर्ने भेटलाई समन्वय गर्न परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा एक/एक जना अधिकृत खटाउने भएको छ । यसअघि सहसचिवलाई नै प्रदेशमा खटाउने योजना बनाइए पनि अहिले परिमार्जन गरी अधिकृतस्तरको कर्मचारीलाई खटाउने निर्णय गरिएको हो ।
हरेक प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय तहका पदाधिकारीले आफूखुसी विदेशी निकाय र व्यक्तिहरूसँग भेटघाट गर्दै आएका छन् । त्यस्ता भेट केन्द्रको जानकारीबिना हुन थालेपछि कूटनीतिक मर्यादा कायम राख्नुपर्ने र केन्द्रमा सूचना दिनुपर्ने भन्दै संघीय सरकारले परराष्ट्र मन्त्रालयका अधिकृतलाई प्रदेशमा खटाउने निर्णय गरेको हो । उनीहरू मुख्यमन्त्रीको कार्यालयमा रहनेछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज गौतमले गत वर्ष केन्द्रीय सरकारले गरेको संघीय संरचनाको संगठन र व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणअनुसार परराष्ट्र मन्त्रालयका अधिकृतलाई हरेक प्रदेशमा खटाउन लागिएको बताए । हरेक प्रदेशमा अधिकृत खटाउन लोकसेवा आयोगले दरबन्दीमा स्वीकृति दिइसकेको छ ।
प्रदेशमा जाने अधिकृतलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले तालिम दिएको छ । अब तीन महिना नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिनेछन् । तालिमपछि उनीहरू तोकिएको दरबन्दीमा खटिने प्रवक्ता गौतमले बताए ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




