तिहारको बेला बढी रङ भएको मिठाई नखान आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

तिहारको बेला बढी रङ भएको मिठाई नखान आग्रह

mithai

काठमाडौं, ११ कात्तिक । तिहारमा धेरै प्रयोग हुने मिठाई र मिठाईजन्य परिकारहरूमा तोकिएभन्दा बढी मात्रामा रङहरू प्रयोग भएको पाइएकाले सचेत हुन सरकारी अधिकारीहरूले आग्रह गरेका छन् । उनीहरूले कतिपय मिठाई बिक्रेताहरूलाई गुणस्तर मिचेकोमा कारबाही अघि बढाइएको पनि जनाएका छन्।

उपभोक्ता अधिकारकर्मीहरू चाहिँ चाडपर्वका बेलामात्रै सरकारले अनुगमन बढाउने गरेको भन्दै खाद्य पदार्थमा गुणस्तर सुनिश्चित गर्न सरकारी निकाय असफल भएको आरोप लगाउँछन् । तिहार, आमा र बाबुको मुख हेर्नेलगायतका चाडपर्वका बेला मिठाईको व्यापार ह्वात्तै बढ्ने गरेको छ।

विगतमा चाडपर्वको समयमा गरिएको अनुगमन र नमुना परीक्षणमा मिठाईमा तोकिएको भन्दा बढी रङ प्रयोग गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरू बताउँछन्।

विभागका प्रवक्ता मोहन महर्जन भन्नु हुन्छ , “मिठाईमा दुई सय पीपीएम मात्र रङ प्रयोग गर्नुपर्छ। हामीले झण्डै तीन सय पीपीएम प्रयोग भएको पनि पाएका छौँ।” “त्यस्ता पसलेहरूलाई खाद्य ऐन अनुसार कारबाही गरिरहेका छौँ।”

महर्जनको अनुसार पछिल्ला वर्षहरूमा रसायनयुक्त अखाद्य रङहरू प्रयोग गर्ने क्रममा कमी आएको भए पनि खाद्य भनेर तोकिएकै रङहरू बढी प्रयोग भएको पाइएको छ।

खाद्य विज्ञहरूका अनुसार यस्ता रङहरू पनि बढी मात्रामा र पकाउने क्रममा प्रयोग गरिए त्यसले मानव स्वास्थ्यमा हानी पुर्‍याउँछ । विभागले बेसारजस्ता प्राकृतिक रङहरू बाहेक अन्य रङहरू सकेसम्म प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ ।

अधिकारीहरूका अनुसार सरकारले ११ प्रकारका कृत्रिम रङहरूलाई तोकिएको मात्रामा प्रयोग गर्न छुट दिएको छ। तर रङको असरबाट बच्न उपभोक्ता पनि सचेत हुनुपर्ने महर्जन बताउनु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);