काठमाडौं, ७ कात्तिक । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताउनु भएको छ ।
मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको प्रभाव पनि विश्वभर पर्न गएको स्पष्ट पार्नु भयो । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको हो ? भनि संचारकर्मीहरुले जिज्ञासा राखेपछि मन्त्री बास्कोटाले नेपालको पनि प्रभाव चिनियाँ राष्ट्रपतिको भ्रमणपछि विश्वभर बढेको बताउनु भयो ।
‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ मन्त्री बास्कोटाले भन्नु भयो, ‘देशको हितमा लाभहरु लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’
मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने अडान पनि राख्नु भयो । उहाँले चन्द नेतृत्वको नेकपालाई हिँसा छोड्न र संविधानको पालना गरेर शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन पनि सचेत गराउनु भयो । मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्विकार्य नहुने मन्त्री बास्कोटाको भनाई थियो ।
मन्त्री बास्कोटाले हिंसा जारी राखेर आफ्ना बन्दीहरुलाई रिहा गर्ने चन्द नेतृत्वको नेकपाले गरेको माग सम्बोधन हुनै नसक्ने पनि स्पष्ट पार्नु भयो ।