ठूला अपराध अनुसन्धानमा प्रहरीलाई सफलता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

ठूला अपराध अनुसन्धानमा प्रहरीलाई सफलता

police

काठमाडौं, ६ कात्तिक । पछिल्लो समय ठूला अपराध अनुसन्धानमा प्रहरीलाई सफलता मिलेको देखिन्छ । यसकै परिणाम अपराधमा मुछिएको आरोप लागेका सभामुखदेखि सांसदहरु अहिले प्रहरी हिरासतमा छन् ।

उच्च पदस्थ व्यक्तिहरु संलग्न अपराध राजनीतिक संरक्षणका आडमा लुकाइने गरेको आरोप लागिरहेको बेला केही हदसम्म यसलाई चिर्ने प्रयास भएको छ । कुनै पनि घटनाको छानबिन गर्दा दल र पद नहेर्नु भनी प्रधानमन्त्रीले प्रहरीलाई निर्देशन दिनु र लगत्तै ठूला नेताहरु पक्राउ पर्नु प्रसंशा योग्य देखिन्छ ।

कानुनको आँखामा सबै समान भनिए पनि त्यसको व्यवहारीक कार्यान्वयन भने हुन सकेको छैन । राजनीतिक शक्ति र संरक्षणका आधारमा अपराधमा संलग्न व्यक्तिहरुले उन्मुक्ति पाएका घटना प्रशस्तै रहेका छन् ।

तर पछिल्लो केहि समयमा पुर्वसभामुखदेखि पुर्वमन्त्री साथै सांसदहरुलाई प्रहरीले विभिन्न आरोपमा प्रकाउ गरी अनुसन्धान गरीरहेको छ । प्रहरीले चालेको यो कदमको निकै खुलेरै प्रशंशा गरीएको छ ।

पछिल्लो केहि घटनामा देखिएको प्रहरीको सक्रियतालाई सकारात्मक कदमको रुपमा हेरीएपनि यसले अब राजनीतिक अपराधीकरणलाई घटायो भने बुझ्न नमिल्ले कतिपयको भनाई छ ।

अपराधीलाई संरक्षण दिने प्रवृति राजनीतिक दल र सरकारमा उस्तै रहेको हुनाले पछिल्ला घटनामा देखिएको प्रहरीको सक्रियता मिडिया र जनदबाब स्वरुप भएको पुर्वन्यायाधीस बलराम केसीको भनाई छ ।

एउटै प्रकृतिका अपराधमा पनि सामान्य नागरिक र उच्चपदस्थ साथै राजनैतिक पहुँचयुक्त व्यक्तिमा गरिने प्रहरी अनुसन्धान र कारबाही निश्पक्ष बन्न नसकेको आरोप लाग्ने गरेको छ ।

जसले गर्दा आम नागरीकमा प्रहरी प्रशासन र सरकारप्रति विश्वासको बातावरण बन्न सकेको छैन । तर यसपटक पुर्वसभामुख कृष्णबहादुर महरादेखि पुर्वमन्त्री मोहम्मद अफताब आलमलाई प्रहरीले प्रकाउ गरी अनुसन्धानको घेरामा ल्याएपनि त्यसको निश्पक्ष अनुसन्धान गर्न सकेमा त्यसले प्रहरी र कानुनी राज्यको समेत परीचय दिने मौका भएको पुर्व एआईजिपी राजेन्द्र बहादुर सिंहको भनाई छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने सार्वजनिक अभिव्यक्ति पनि दिनुभएको छ। राजनीतिमा बढेको अपराधीकरणको नमुना केहि दिन अगाडी देखिका घटनाले उजागर गरेको छ ।

यस्ता घटना पहिले पनि नभएका होइनन् । तर राजनीतिक पहुँच र शक्तिका आडमा भित्रभित्रै लुकाएको थियो । पछिल्ला केही नेताहरुको नाममा भइरहेको अनुसन्धानमा दलहरु मौन बसेर सघाइ रहेको देखिन्छ ।

यसले अनुसन्धानमा सहयोग पु-याएको त छ नै राजनीतिक स्वच्छतामा पनि सघाउ पु-याउने विश्वास गरिएको छ । यस पटक जुन कदम सरकार र प्रहरीले चालेको छ । ति केबल देखावटी र जनदबाबका लागी मात्र हुनु हुँदैन भन्ने आम विश्वास छ ।