राष्ट्रपति सहित आधा दर्जनमन्त्री बिदेश भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति सहित आधा दर्जनमन्त्री बिदेश भ्रमणमा

तेजना पण्डित
काठमाडौं, ३ कात्तिक । सरकारमा रहेकाहरुलाई यतिबेला विदेश भ्रमणको मोह बढेको छ । राष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीसहित आधा दर्जन मन्त्रीहरु अहिले विदेश भ्रमणमा हुनुहुन्छ ।

विदेश भ्रमण कम गर्ने भनेर प्रधानमन्त्री ओलीले पटक पटक दिनु भएको सार्वजनिक निर्देशन यतिबेला कार्यान्वयनमा आएको देखिंदैन । आधा दर्जन त केन्द्र सरकारका मात्र विदेश भ्रमणमा हुनुहुन्छ । प्रदेश सरकारका र केन्द्रिय नेताहरुको भ्रणको संख्यालाई जोड्ने हो भने यतिबेला दुई दर्जनजति विदेश भ्रमणमा हुनुहुन्छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले म्यानमारको ४ दिने राजकीय भ्रमण पूरा गर्नु भएको छ । भ्रमण पुरा गरि उहाँ म्यानमारबाटै जापान जानु भएको छ । म्यानमारको भ्रमणका लागी असोज २९ गते निस्कनुभएको हो ।

राष्ट्रपति म्यानमारबाट नेपाल नफर्कि उतैबाट आइतवार जापान जानुभएको हो । जापान भ्रमणको औपचारिक जानकारी राष्ट्रपति कार्यालयले गराएको छैन ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यतिबेला चीनको भ्रमणमा हुनुहुन्छ । हुवेई प्रान्तको उहान र बेइजिङमा हुने दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन गत असोज ३० गते उहाँ चीन प्रस्थान गर्नु भएको हो । उहाँ कात्तिक ६ गते स्वदेश फर्कने कार्यतालीका रहेको छ ।

गृहमन्त्री रामबहादुर थापा पनि विदेश भ्रमणमै हुुनुहुन्छ । उहाँ पनि यतिबेला जापानमा हुनुहुन्छ । उहाँ कात्तिक २ गते जापान प्रस्थान गर्नु भएको हो । उहाँ जापानमा नयाँ सम्राटको राज्याभिषेकमा सहभागी हुन गएको बतार्ईएको छ ।

अर्थमन्त्री युवराज खतिवडा पनि हाल अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँ २८ असोजमा वर्ल्ड बैंकको बार्षिक बैठकमा भाग लिन भन्दै अमेरिका जानु भएको हो । अर्थमन्त्री खतीवडा कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा रहि म्यानमार जानु भएको हो । राष्ट्रपति बिद्यादेबी भण्डारी म्यानमारबाट जापान प्रस्थान गर्नुभएपनि परराष्ट्रमन्त्री ज्ञवाली भने म्यानमारमै हुनुहुन्छ ।

भूमिसुधार सहकारी तथा गरिविनिवारण मन्त्री पद्मा अर्याल पनि चीन भ्रमणमा हुनुहुन्छ । गरिवि निवारण सम्बन्धि चिन सरकारले आयोजना गरेको कार्यक्रममा भाग लिन असोज २९ गते चिन जानुभएकी मन्त्री अर्याल कात्तिक ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यतिमात्र होइन प्रदेशसरकारका दुइ मुख्य मन्त्री सहीत नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटि सदस्य बेदुराम भुषाल, देवेन्द्र पौडेल लगाएत अन्य नेताहरु पनि चिन भ्रमणमा हुुनुहुन्छ ।

राष्ट्रपति स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीको पनि कात्तिक ७ गते विदेश भ्रमण तय भएको छ । असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओलीसंगै परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजान जाने कार्यक्रम तय भएको छ ।

केही समय अघि प्रधानमन्त्री ओलीले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्न भन्दै कर्मचारीलाई अनावश्यक बिदेश भ्रमणमा रोक लगाउनु भएको थियो । भ्रमणमा रोक लगाइएको मात्र होइन केही उच्च पदस्थ कर्मचारीलाई त पटक पटक विदेश भ्रमणमा गएको भनेर कारबाही समेत भएको थियो ।

केहीको त सरुवा पनि भएको छ । तर प्रधानमन्त्री ओली नेतृत्वको सरकारका मन्त्रीहरु एकपछि अर्को गरी बिदेश भ्रमणमा गइरहनु भएको छ । नेकपाकै नेताहरु पनि आलोपालो हुलकाहुल विदेश भ्रमण गइरहेका छन् ।

विदेश भ्रमणमा जाने लर्काेलाई हेर्दा यो नियम नेता र मन्त्रीहरुलाई होइन कर्मचारी र सर्वसाधारणलाई मात्र हो कि जस्तो देखिएको छ । अनि अधिकांशको भ्रमण चीन भएकोले मन्त्रीहरुको चीन भ्रमण मोह किन भन्ने जिज्ञासा पनि उठेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);