काठमाडौं, २ कात्तिक । काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट निर्माण सामग्री खरिद गर्दै आउनुभएको छ भने ख्याल गर्नुहोस्, तपाईं ठगीमा पर्न सक्नुहुन्छ। इँटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्री ढुवानी गर्दै आएका व्यवसायीहरूले सर्वसाधारणलाई हदैसम्म ठगी गर्दै आएको तथ्य प्रहरीले फेला पारेको छ।
मिनी ट्रकमै ढलान वा फलामे फ्रेम राखेर सर्वसाधारणलाई ठगी गर्दै आएका २३ वटा डिपोका सञ्चालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको छ। डिपो सञ्चालक र चालकको मिलेमतोमा एक ट्रिप निर्माण सामग्रीबराबर १६ सयदेखि २२ सयसम्म ठगी गर्दै आएको पाइएको महाशाखाले जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सामग्री ढुवानी गर्ने क्रममा मिनी ट्रकमा पाँच इन्चसम्म फलाम वा काठको बाकस राखेर परिमाण कम गराएको प्रहरीले जनाएको छ। निर्माण सामग्री खरिद गर्दै आएका सर्वसाधारणले व्यापक गुनासो गरेपछि प्रहरीले एक सातादेखि उपत्यकाका विभिन्न ठाउँमा जासुसी गर्दै आएको थियो।
अनुसन्धानका क्रममा नयाँ बसपार्क, स्वयम्भू, चावहिल, सिनामंगल, महाराजगन्जलगायत क्षेत्रका अघिकांश डिपोले यसरी ठगी गर्दै आएको भेटिएको छ। सर्वसाधारण ठग्दै आएका ठिपोहरू दर्तासमेत नभएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। ‘२३ वटा डिपोले लामो समयदेखि ठगी गर्दै आइरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई कसुरअनुसार कारबाही हुन्छ।’
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।