रौतहट, २७ असोज । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् ।
संघीय संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार रौतहटको गौरबाट नियन्त्रणमा लिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका आलममाथि २०६४ चैत्र २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ । आलम पक्राउ परेको विरोधमा कांग्रेस कार्यकर्ताले सोमवार रौतहटका विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
जिल्लाभित्र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।