प्रहरीको तीन अर्बको खरिदमा अख्तियारको छानबिन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रहरीको तीन अर्बको खरिदमा अख्तियारको छानबिन

nepal police-akhityar

काठमाडौं, १८ असोज । नेपाल प्रहरीको पछिल्लो दुई वर्षका खरिदसम्बन्धी सबै फाइल झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । स्केल, सवारीसाधन तथा अन्य बन्दोबस्तीका सामान खरिदमा ठेकेदारसँगको मिलेमतोमा अनियमितता गरेको उजुरीपछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको हो ।

जुत्ता, कपडालगायत सामान गुणस्तरहीन भएको र सम्झौताअनुसार आपूर्ति नहुँदै रकम भुक्तानी गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई बयानमा बोलाउने तयारीमा अख्तियार छ ।

आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा प्रहरीले गरेको करिब तीन अर्ब रुपैयाँको खरिदसम्बन्धी फाइल अख्तियारको नियन्त्रणमा छन् । हरेकजसो खरिदमा सार्वजनिक खरिद नियमावली तथा आर्थिक ऐन–नियमको उल्लंघन गरिएको स्रोतको दाबी छ ।

आइजिपीलाई पन्ध्र सय र जवानलाई डेढ सय रुपैयाँ मिटरको बर्दी

सबै प्रहरीलाई एउटै खरिदबाट स्केलका सामान लिइन्छ । तर, जवानको पोसाक हप्ता दिनमै खुइलिन्छ भने उच्च अधिकारीहरूको कपडा टिकाउ हुन्छ । यसको कारण हो, ठेकेदारले उच्च अधिकारीका लागि महँगो र जवानका लागि अत्यन्त सस्तो कपडा आपूर्ति गर्छन् । ‘सिपाहीले लगाउने कपडा मिटरको डेढ सय रुपैयाँ पर्छ,’ प्रहरीको प्रबन्ध शाखामा काम गरेका एक प्रहरी अधिकारी भन्छन्, ‘हाकिमहरूलाई महँगो कपडा खरिद गरेर दिन्छन् । महानिरीक्षकको कपडा १५ सय रुपैयाँ प्रतिमिटरको हुन्छ ।’ जुत्तालगायत अन्य सामान पनि उच्च अधिकारी र तल्लो तहका प्रहरीलाई छुट्टाछुट्टै दिने गरिएको प्रहरी स्रोत बताउँछ । गुणस्तर परीक्षणमा नै चलखेल गरेर सामान खरिदमा अनियमितता हुने गरेको स्रोतको दाबी छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);