बैतडी, १५ असोज । बैतडीको जुलाघाट नाकामा सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म हेडक्वाटर बैतडीले सहायता कक्ष स्थापना गरेको छ ।
दशैँ तथा तिहारका लागि भारतबाट घर फर्किने कामदारको संख्या बढ्न थालेपछि उनीहरुको सहजताका लागि सशस्त्रले सहायता कक्ष राखेको हो । चाडवाड मनाउन घर फर्किनेहरुको सुरक्षा र नाकामा उनिहरुलाई कुनै किसिमको दुख नहोस भन्ने उद्देश्यले हेल्प डेस्कको स्थापना गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
जुलाघाट नाकामा वस्ने ठाउँ नभएकाले सशस्त्रको टोलीलाई कक्ष स्थापनाका लागि सदरमुकाम गड देखि नै विहान जानु पर्ने र बेलुका फिर्ता आउन पर्ने वाध्यता छ । यसै गरी नेपाल प्रहरीले पनि गोठलापानी वसपार्क, पाटन, खोडपेमा सहायता कक्ष राखेर सेवा दिई रहेको छ ।
चाडवाडको वेला बढी भिड हुने भएकाले अपराधिक क्रियाकलाप बढ्न सक्ने आशंकामा दशैँ, तिहार, छठ जस्ता पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षामा कडाई गरिएको छ ।