काठमाडौं, १४ असोज । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महराले पदबाट दिनुभएको राजीनामा अपुरो रहेको दाबी गरेको छ ।
मंगलवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिदासम्म भन्ने शब्द प्रयोग गरिनु उपयुक्त नभएको दाबी गर्नुभयो ।
उहाँले उपसभामुख शिवमाया तुम्वाहाम्फे समक्ष बुझाइएको राजीनामा पत्रको भाषाले महराको राजीनामा भन्दा पनि कार्यवाहक दिएको जस्तो रहेको टिप्पणी गर्नुभयो ।
प्रवक्ता शर्माले महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे सामान्य नागरिक सरह छानबिन हुनुपर्ने समेत बताउनुभयो । पत्रकार सम्मेलनमा कांग्रेसले बर्तमान सरकारका बिरुद्ध बोल्नेलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका कार्यकर्तालाई प्रतिकार गर्न दिएको निर्देशन मण्डले प्रबृति भएको आरोप लगाएको छ ।