टिकटमा बस व्यवसायीको खुलमखुला ठगी : १५ देखि १८ असोजसम्मको टिकट पाउनै मुस्किल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टिकटमा बस व्यवसायीको खुलमखुला ठगी : १५ देखि १८ असोजसम्मको टिकट पाउनै मुस्किल

dashain ticket booking

काठमाडौं, १४ असोज । दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ ।

चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ । काठमाडौंदेखि दिक्तेलसम्मको भाडा अन्य काउन्टरमा १२ सय लिने गरेमा ती काउन्टरवालाले १५ सय लिने गरेका छन् । दिक्तेलसम्म सुमोले १८ सयसम्म लिने गरेकोमा उनीहरूले अहिले २५ सयसम्म लिने गरेको पाइएको छ । खोटाङ, भोजपुरलगायतका जिल्लामा १५ देखि १९ गतेसम्मका सबै टिकट सकिएको काउन्टरवालाले बताएका छन् ।

काठमाडौंबाट भोजपुर जाने बसमा पनि रिजर्भका नाममा ठगी भइरहेको छ । कोटेश्वरस्थित चोमलुङ्मा यातायात प्रालिले पनि २ सय बढी लिएर यात्रुबाट बढी भाडा असुलिरहेको पाइएको छ । अधिकांश हायस तथा सुमोले महँगो भाडा असुल गरिरहेको यात्रुले गुनासो गरेका छन् । चाडमा जसरी पनि घर जानैपर्ने भएकाले महँगो भाडा दिन बाध्य भएको उनीहरूको दुखेसो छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले तोकिएभन्दा बढी कसैले उठाउन नपाउने र उठाएको पाइए कारबाही हुने बताए । ‘अहिले कसैले पनि बस रिजर्भ नगरून् भनेर नै रुट पर्मिट खुला गरिएको हो । रिजर्भमा पनि तोकिएभन्दा बढी भाडा लिन पाइन्न । लिएको पाइए कारबाही गर्छौं,’ उनले राजधानीसँग भने ।

महानिर्देशक हमालले सादा पोसाकमा खटिएका प्रहरीले ५–६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);