सीता शर्मा
काठमाडौं, ९ असोज । नेपालीहरुको महान चाडपर्व नजिकीएसंगै रोजगारी, व्यापार र अध्ययनका लागी बाहिरिएकाहरु गृह जिल्ला र घर र्फकने तयारीमा छन् । सर्वसाधारण जस्तै देशभरबाट संघीय संसदमा प्रतिनिधीत्व गरेका सांसदहरु पनि चाडपर्वको मौका पारी निर्वाचन क्षेत्र फर्किने तयारीमा छन् ।
संसदको चौंथो अधिवेशन सकेर चाडपर्वका अवसरमा निर्वाचन क्षेत्र पुग्न लागेका सांसदहरुले निर्वाचन क्षेत्रका जनताको अपेक्षा बुझ्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागी योजना तयार पार्ने गरी आफुहरु निर्वाचन क्षेत्र जान लागेको बताएका छन् ।
दैलेख जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसद पार्वती विशुंखे चाडपर्वको अवसरमा आफ्नो निर्वाचन क्षेत्र जाँदै हुनुहुन्छ । संसद अधिवेसन सकिएपछी अर्काे अधिवेसन सुरु नहुँदाको समय निर्वाचन क्षेत्रमा नै बिताउने योजनामा रहनुभएकी विशुंखेले यो समयमा सरकारले गरेको सकारात्मक कामको प्रचार गर्नुका साथै उनीहरुको सुझाव लिने योजना सहित निर्वाचन क्षेत्र जान लागेको बताउनुभयोे ।
चाडपर्वको समयमा निर्वाचन क्षेत्र जान लागेका कतिपय सांसदहरु आफ्नो क्षेत्रमा पुगेर सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागी छुट्टाएको बजेट कहाँ र कस्तो ठाँउमा प्रयोग गर्ने भन्ने विषयमा जनतासंग छलफल गरी योजना छनोट गर्ने तयारी रहेको बताएका छन् ।
कतिपय सांसद भने जिल्लामा अगाडी बढाएका र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको अवलोकन गरी ति आयोजना पुरा गर्न सम्बन्धी निकाय र जनतासंग छलफल गर्ने योजना बनाएर जिल्ला जाने बताउँछन् ।
त्यस्तै जनचाहना अनुरुपका काम हुन नसकेको अवस्थामा जनता माझ लैजाने खालका सन्देश नभएको हुनाले उनीहरुलाई आश्वस्त बनाउन पनि निर्वाचन क्षेत्र जाने तर्खरमा सांसदहरु देखिन्छन् ।
संसद बैठक नभएको र चाडवाड आएकोले सांसदहरु घर त फर्कदै छन् । तर कतिपय सांसदहरु भने निर्वाचन क्षेत्र फर्कन धक मानिरहेका पनि देखिन्छन् ।
जनचाहना अनुरुप काम गर्न नसकेको र सरकार तथा सांसदप्रति जनगुनासो बढ्दा सांसदहरु निर्धक्क भएर निर्वाचन क्षेत्र जान धक मानिरहेका छन् । जेहोस, चाडवाडले जबर्जस्ती नै भए पनि नेता र कार्यकर्ताबीच निर्वाचन क्षेत्रमा भेटघाट जुराउने अवसर मिलाएको छ ।