काठमाडौं, २ असोज । राष्ट्रियसभाबाट संशोधन सहित प्राप्त विभिन्न ३ वटा विधेयक प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको विहिबार बसेको बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी(आठौ संशोधन) विधेयक २०७५ राष्ट्रिय सभाबाट भएको संशोधन सहित स्वीकृत गरेको हो ।
बैठकबाट राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५ सर्वसम्मति स्वीकृत भएको हो । भूमि सम्बन्धी (आठौ संशोधन )विधेयक २०७५ भने बहुमतले स्वीकृत गरेको हो ।
भूमि विधेयकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउदै आएको छ । भूमि सम्बन्धी (आठौ संशोधन )विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र राजपाका सांसदहरुले सुकम्बासीको नाममा राज्यको जग्गा बाड्ने ढंगले नीति बनाईएको भन्दै विरोध गरेका थिए ।