काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिनुभएको छ ।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दै सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आईपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथी खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन ।’
डेमोक्रेशमिाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आईपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।
‘डेढ बर्ष भईसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइपनि असन्तुष्ठी जाहेर गर्नुभयो । ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन पनि दिनुभयो ।
उहाँले भन्नुभयो “निर्माण कार्यमा बिलम्ब हुने गर्या छ । यो बिलम्ब मान्य हुँदैन । जति समय भनिएको छ त्यो समय भित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुँदैन । गुणस्तरीय हुनुपर्छ । कबुल भन्दा पछि पैसा थप्ने काम हुँदैन । धेरै बिग्रेका परिपाटीहरु छन् । त्यसलाई मानिदैन ।”
नेत्र विक्रम चन्द समुहका क्रियाकलाप प्रति इंकित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गर्नुभयो । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उहाँले आवश्यक परे नियन्त्रणकारी भुमिका पनि खेल्न सकिने बताउनुभयो ।