धनगढी, २८ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक हवाई भाडामा नेपाली र विदेशीहरुलाई लिइने फरक भाडादरको अन्त्य गरिने बताउनु भएको छ ।
कैलाली उद्योग वाणिज्य संघले शनिबार धनगढीमा गरेको कार्यक्रमका मन्त्री भट्टराईले विदेशी पर्यटकहरुसँग लिइने चर्को हवाई भाडा पर्यटन विकासका लागि उपयुक्त नहुने बताउनु भयो ।
विदेशी पर्यटकले चर्को हवाई भाडा तिर्नुपर्ने बाध्यताकै कारण सुदूरपश्चिमको पर्यटन व्यवसाय पछाडी परेको मन्त्री भट्टराईको तर्क छ ।
सामान्यतया नेपालीलाई काठमाडौंबाट धनगढीसम्मको एकतर्फी हवाई भाडा ४ हजार देखि ७ हजारसम्म पर्ने गरेकोमा विदेशीले झण्डै ८ गुणा महंगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।
स्वदेशी तथा विदेशीलाई आन्तरिक हवाई भाडा दर समान कायम गर्ने निर्णय गर्न लाग्दा निजी वायुसेवा निगमहरुले असहमति जनाएको समेत मन्त्री भट्टराईको भनाई छ ।